काठमाडौं:  झाँक्री प्रकाश भुजेलले चलाएको गाडीको ठक्कर बाट ज्यान गुमाएका दम्पतीको शव पाँच दिनपछि आज उठाउने भएको छ ।

कात्तिक २८ गते काठमाडौंको इन्द्रायणीमा दुर्घटना भएको थियो । दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भएका नारायण नगरकोटी र उनकी पत्नी सानुमाया नगरकोटी गम्भीर घाइते भएका थिए ।


पति नारायणलाई सोही दिन अस्पतालले मृत घोषणा गरेको थियो भने पत्नी सानुमायाको दुई दिनपछि ज्यान गएको थियो ।

शव व्यवस्थापन तथा काजक्रियाका निम्ति झाँक्री भुजेल र मृतकको परिवारबीच आर्थिक विषयमा विवाद हुँदा मृतकको परिवारले ग्राण्डी अस्पतालबाट शव नउठाउने निणय गरेको थियो ।

प्रहरी स्रोतका अनुसार, आइतबार दुई पक्षबीच ५२ लाख रुपैयाँ क्षतिपूर्तिमा कुरा मिलेपछि सोमबार शव उठाउने सहमति भएको छ । उनीहरुबीचको मध्यस्थता जिल्ला प्रहरी परिसर भद्रकालीले गरेको थियो ।

पहिला मृतक परिवारले प्रतिव्यक्ति ५० लाखका दरले एक करोड माग गरेको थियो । निरन्तरको वार्ता र स्थानीय जनप्रतिनिधिहरूको मध्यस्थतापछि आइतबार ५२ लाखमा सहमति भएको प्रहरी स्रोतले बताएको हो।

भुजेल अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा छन् ।