काठमाडौँ । आइतबारबाट धरहरा चढ्दा शुल्क लिन थालिएको छ । तर पनि धरहरा चढ्नेको भीड घटेको छैन । अब धरहरा चढ्दा प्रतिव्यक्ति २ सय रुपैयाँको टिकट लिनुपर्ने व्यवस्था गरिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिले भने उक्त रकममा ५० प्रतिशत छुट पाउनेछन्। सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रबाट आउनेलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको सहरी विकास मन्त्रालयले जनाएको छ। अहिलेसम्म अन्तरिम व्यवस्थाअनुसार धरहरा खुला गरिएको भए पनि अब शुल्क निर्धारण गरेर चलाउन लागिएको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) आयोजनाका निर्देशक प्रकाश अर्यालले बताए।
धरहरा परिसर प्रवेश गर्दा पनि ५० रुपैयाँ शुल्क लाग्नेछ। धरहरा परिसरमा व्यावसायिक भिडियो छायांकन शुल्क प्रतिघण्टा ५ हजार र व्यावसायिक फोटोग्राफी छायांकन शुल्क प्रतिघण्टा १ हजार रुपैयाँ तोकिएको मन्त्रालयले जनाएको छ। धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका व्यावसायिकबाहेकको विज्ञापन शुल्क प्रतिघण्टा ५ हजार रुपैयाँ पर्नेछ। प्रत्येक बुधबार एक दिन भने धरहरा चढ्न बन्द गरिनेछ। अहिले समिति नबन्दासम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमार्फत यसको सञ्चालन हुनेछ। यसको अध्यक्ष सहरी विकास मन्त्रालयका सचिव रहेकाछन्।
सरकारले काठमाडौंको धरहरा, झापाको दमक भ्युटावरसहित देशका ६ वटा भौतिक संरचनालाई ‘विशिष्ट संरचना’ घोषणा गरेको छ। घोषणासँगै सरकारले ती संरचना सञ्चालन निजी क्षेत्रबाट गराउने प्रस्ताव अघि सारेको छ। सहरी विकास मन्त्रालयले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन आदेश ०८१ जारी गरेर यस्तो व्यवस्था गरेको हो।




















