दार्जिलिङ —ड/ढ लेख्दा थोप्लो प्रयोग गर्नु कि नगर्नु ? शहर लेख्ने कि सहर ? फूल र फुलको अर्थ उही हो ? भारतका नेपालीभाषीहरु वर्षौदेखि यस्तै अन्यौलमा भएका छन् ।
कतिले पारसमणि प्रधानको व्याकरणलाई आधिकारिक मान्छन् । केहीले राजनारायण प्रधानको व्याकरणलाई । नेपाली भाषाको लेख्य रुपबारे भारतभर नै एकरुपता पाइदैन ।
दार्जिलिङ, सिक्किम, असामका नेपाली भाषीहरुले फरक–फरक ढंगबाट नेपाली भाषा लेख्दै आएका छन् । भारतमा नेपाली भाषा प्रयोगमा देखा परेको यो समस्या बारे दार्जिलिङमा चर्चा भएको छ ।
गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) को आयोजना र दार्जिलिङ पुस्तकालयको सहकार्यमा आयोजित २९ औ पुस्तक मेलामा ‘के नेपाली भाषा संकटमा छ ?’ भन्ने विषयमा आइतबार गहन छलफल भएको थियो। भाषाबिद् गोकुल सिन्हाले नेपाली भाषाको प्रयोगका बारेमा ‘झगडा’ हुन ठीक नभएको बताएका हुन् ।




















