सुनसरी,गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा पूर्वी पहाडका किसानहरु उत्साहित भएका छन् ।

 गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले सुन्तला उत्पादन घटेको व्यापारीहरुको भनाइ रहेको छ ।

उत्पादन कम भए पनि बजारमा मुल्य भने गत वर्षको तुलनामा वृद्धि भएको छ । यतिबेला धनकुटाको खोकु, छिन्ताङ्, बुधुक, भोजपुरलगायत पूर्वी पहाडी जिल्लाबाट धरानस्थित कृषि बजारमा किसानले सुन्तला बिक्रीका लागि ल्याएका छन् ।

धरान कृषि बजारमा गत वर्षमा पुस र माघ महिनाको तुलनामा यस वर्ष कमै मात्रामा सुन्तला ल्याइएको धरान कृषिबजार व्यवस्थापन समितिका व्यवस्थापक अध्यक्ष लक्ष्मण भट्टराईले बताएका छन्  । यस वर्ष सुन्तला फल लाग्ने समयमा मौसम परिवर्तन र भारी वर्षाका कारण गत वर्षको तुलनामा उत्पादनमा कमी आएको भोजपुरका किसान प्रदीप राईले जानकारी  दिएका छन्  ।


उनले भने गत वर्षहरुमा १५ देखि २० मेट्रिक टनसम्म सुन्तला फल्ने गर्थ्यो यस वर्ष भने १२ मेट्रिक टन मात्र सुन्तला फल्यो ।उनले विगत १८ वर्षदेखि सुन्तला व्यापार गर्दै आएको बताउँदै भने । धरान कृषि बजारमा कात्तिक महिनाको अन्तिम सातादेखि हालसम्म दुई हजार पाँच सय मेट्रिक टन सुन्तला बिक्री भइसकेको छ ।


दैनिक रुपमा धरान कृषि बजारमा २५ टन बढी सुन्तला आउने गरेको धरान कृषिबजार व्यवस्थापन समितिका व्यवस्थापक अध्यक्ष भट्टराईले बताउँदै भन्छन्  । गत वर्ष धरान कृषिबजारमा प्रतिकिलो ७० सम्ममा बिक्री भएको सुन्तला हाल प्रतिकिलो एक सयदेखि दुई सयसम्ममा बिक्री भइसकेको  छ । सुन्तलाको मूल्य मौसमअनुसार घटबढ हुने गर्छ ।

घाम लागेको समयमा सुन्तलाको मूल्य वृद्धि हुने र घाम नलागेको दिन मूल्य घट्ने व्यापारीहरुको भनाइ रहेको छ । कृषिउपज बजारस्थलको तथ्याङ्कअनुसार गत वर्ष धरानमा आठ हजार पाँच सय मेट्रिक टन सुन्तला बिक्री हुँदा करिब एक अर्ब बराबरको कारोबार भएको थियो । यस वर्ष भने पाँच हजार मेट्रिक टन सुन्तला खरिद बिक्री हुँदा कृषिबजारबाट ६० करोड हाराहारीको कारोबार अनुमान लगाइएको छ ।