कविता-: नदी किनारबाट
- मंसिर २, २०८२
- २७८ पटक पढिएको
चेतनाको ज्योति बाल्दै
प्रभातदेखि डुब्दो घामसम्म
जीवनका गाथा बताउँदै
विज्ञानका चमत्कार सुनाउँदै
हरक्षण जागृतिको बाजा बजाउँछन्
कला ,दर्शन ,साहित्य जन्माउँछन्
र जन्माउँछन् महापुरुषहरू
कतै जन्मन्छन् हिटलर र रावणहरू
र विश्व ध्वस्त पार्छन
अहंताको विमान चढेर
म त हेरिरहेछु
टुलुटुलु हेरिरहेछु
घरघरको भित्ताबाट
जोडिएका पत्थरहरू
आकाशे महल बनेका छन्
टुटेका टुक्राहरू
सुनसान बगरमा लडी रहेछन्
रामले मलाई पूजनीय ठान्छन्
रावणहरू खुट्टा बजार्दै हिँड्छन्
तै पनि निशब्द नियाली रहेछु
सडक किनारबाट
स्वप्न निद्राबाट नियाली रहेछ
बगरमा पत्थर बनेर
खुट्टा बजार्दै आउँछन्
रवाफ र फूर्तिसाथ
देशको रक्षक हुँ भन्दै
देशका साँध सिमानालाई जोगाउनुपर्छ
अनन्त कालसम्म बचाइराख्नुपर्छ
वीर पुर्खा गोर्खालीको सन्तान
आफ्नो कर्तव्य जिम्मेवारीमा
विचलित हुनुहुँदैन भन्दै
कन्चन प्रवाहलाई रोक्दै
मुहारलाई भिजाउँछन् र
पवित्र सागर धमिल्याएर जान्छन्
तैपनि चुपचाप छु बगरमै
पत्थर बनेर
विभाजित मनहरूलाई
सिङ्गो आकाशको छत्रछाया बनेर
शितलताको दिन सक्ने
साहस बटुल्दै मैदानमा उत्रन्छ र
आस भरोसाका सुगन्धित
अनगिन्ती थुँगाहरू बाँड्न थाल्छ
समयको माग या परिवर्तनको संवाहक
आवश्यकताको उपज या बाध्यताको जहर
पिउँदा पिउँदै पखालिन्छ
इमानदारीको खोल र
उब्जन्छ कलुषित भावनाहरू
रङ्ग्याउँछन् शिरदेखि पुच्छरसम्म
तैपनि नदी किनारबाट
पत्थर बनेर हेरिरहेछु हेरिरहेछु ।
अम्बिका खरेल उप्रेती
विराटनगर -१२




















