मैले सोचे..
प्रिय हुन्छन् यथार्थमा
जो माया गर्छन् आफूलाई
पूजनीय हुन्छन् उनीहरु नै ।
फेरि सोचे
प्रभातमा घाम नउदाउने
फूलमा वसन्तै नआइपुग्ने
त्यो आस्थाको के काम ?
आशीर्वादको हातै नराखेको
त्यो निराकारको के विश्वास ?
कल्पना होइन यो समयको चोट
कोरा आदर्श पनि होइन यो विद्रोह
भोगाइ हो ...
भीरैभीर जीवन भोग्नेहरुको ।
हेर
फ्याकिदिए उखेलेर
हजुरआमाको शिरफूलजस्तै प्रिय
आस्थाका फूलहरु
राेपेँ मनभरि अनास्थाको क्याक्टस ।
फुकेर मिल्काइदिए
उहिल्यै हजुरबुवाले हुक्कामा फुकेको धूवाँजस्तै
एकएक गरेर
दास बनाउने देवताको तस्बिर
र राखे आफ्नै प्रियहरुका स्मृति पूजनका लागि ।
अब शिरमा कुल्चिरहने
चाहिदैन कुनै अदृश्य प्रतिरुप
मन तड्पाइरहने
पर्दैन शासनको स्नेह ।
औंला ठड्याओ
गन मेरा दोषहरु
बरु लत्याओ,
सक्छौ भने खन्याओ भुतभुते
मुडुलो बनाओ मेरो टाउको
जहाँ कहिल्यै सजाउँदिनँ शिरफूल
निस्कन नसक्ने गरि जेल चक्रव्यूहमा ।
अब ,
मेटाउछु एकएक गरेर
ह्र्दयमा जरा गाडी
मलाई तर्साउने तिमीहरुका तस्बिर
भत्काउछु , कराैडाैँ अँध्यारा विश्वास ।
म कृष्णविहीन अभिमन्यु
तोड्छु पहिल्याउन नसकेको चक्रव्यूह
आफैं लगाउँछु, विजयको शिरफूल ।
शुभलक्ष्मी लम्साल



















