विराटनगर । उपभोक्ता जागरण अभियान नेपालले दुरदराजका गाउँ–बस्तीका विद्यालयमा पुगेर विद्यार्थी माझ “जागरुक उपभोक्ता र जिम्मेवार बिक्रेता” कार्यक्रम सञ्चालन गर्दै उपभोक्तालाई सचेत र बिक्रेतालाई जिम्मेवार बनाउने अभियान जारी राख्दै आएको छ।

आगामी आम निर्वाचनको मुखमा एकातर्फ तेल, चामललगायतका खाद्यान्नको मूल्य ह्वात्तै बढ्नु र अर्कोतर्फ नेपाल आयल निगमले खाना पकाउने ग्यास पर्याप्त आयात भएको जानकारी दिँदासमेत बजारमा ग्यासको आपूर्ति असहज हुनु गम्भीर विषय बनेको अभियानले जनाएको छ। ग्यास अभावका कारण निगम आफैंले वितरण गर्नुपर्ने अवस्था आउनु उपभोक्ताका लागि चिन्ताको विषय भएको संगठनको भनाइ छ।

नेपाल आयल निगमले भारतीय आयल निगमबाट आयात हुने ग्यासको पीडीओ मात्र जारी गर्ने र ग्यास उद्योगले सहज वितरण गर्ने व्यवस्था रहे पनि सो विपरीत अवस्था सिर्जना हुनु गम्भीर प्रश्नको विषय बनेको छ। यस विषयमा बजार सुशासनको जिम्मेवारीमा रहेका मन्त्रालय तथा विभागले छानबिन गरी दोषी ग्यास उद्योगलाई कानुनी दायरामा ल्याउनुपर्ने अभियानले माग गरेको छ।

अभियानका अनुसार खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरी चुनावको मुखमा नेताहरूमाथि आर्थिक तथा मानसिक दबाब दिँदै उद्योगहरूले कमिसन बढाउने खेल खेलेको अनुमान बजारमा फैलिएको छ।

निजी स्वार्थका कारण आम उपभोक्तालाई पीडामा पार्नु दण्डनीय अपराध भएको उल्लेख गर्दै उपभोक्ता जागरण अभियान नेपालले सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराउँदै यस्ता गतिविधिमाथि तत्काल कारबाही गर्न अपील गरेको छ।

कृष्ण प्रसाद भण्डारी मार्सेलि