एउटा रोचक किस्सा सुनेको थिएँ , रोचक नै छ त्यसैले दोहोर्याउछु ।
एक पटक एक चोरले बाटोमा खेल तमाशा देखाउँदै गरेको देखेछ । त्यो तमाशामा एक नट बाँस ठड्याएर त्यसको टुप्पासम्म फुर्तीले चढदै उत्रदै गर्दे थियो ।
उसको त्यो कुशलता देखेर त्यो चोर लोभियो । उसले त्यो नटलाई आफ्नो काम सघाई दिए वापत प्रसस्त धन दिने लोभ देखायो । भनिन्छ नी धन देख्दा महादेवका तीन नेत्र , त्यो नट पनि लोभियो ।
उ त्यो चोरसंग काम गर्न तैयार भयो ।
चोरको काम नै रात छिप्पिए पछि हुन्छ । त्यसैले रात छिप्पिएपछि त्यो नट र चोर दुवै बाँस बोकेर नगर सेठको घर बाहिर पुगे ।
चोरले बाँस खडा गरिदियो , त्यो बाँसको टुप्पो नगर सेठको घरको छानोसम्म पुग्यो ।
अव चोरले नटलाई त्यो बाँसमा चढेर नगर सेठको घरमा पस्न र त्यहाँबाट धनसम्पत्ती तल झर्न अह्रायो ।
तर त्यो नट बाँसको छेउमा उभिई रह्यो , चढ्ने प्रयत्न गरेन । धेरै चोटी भन्दा पनि केही नलागे पछि चोरले अलि हप्काएर भन्यो ।
अनि नटले जवाफ दियो "पहिले ढोल बजाउनुस न त, ढोलको तालमा पो म बाँस चढन सक्छु "।
कुनै व्यक्तिको कार्यकुशलता सबै क्षेत्रमा हुन संभव छैन । फेरी त्यही कार्यकुशलता पनि मात्र व्यक्तिमा भर पर्दैन उसलाई काम गर्न परिवेश चाहिन्छ ।
पछिल्ला दिनमा वीपी विचार मञ्चले विराटनगरमा कार्यक्रम गर्यो ।
यसमा कुलवहादु गुरुङ्ग , देवेन्दलाल्र नेपाली अनि देवप्रकाश त्रिपाठी काठमाण्डौबाट सहभागी प्रमुख वक्ता थिए ।
कुलबहादुर गुरुङ्ग जसको अध्ययक्षतामा बिना बहस संविधानसभाले गणतन्त्र कार्यान्वयन गर्यो ।
संविधान सभाको गठनले स्वतः समाप्त हुने व्यवस्थापिका संसदको आदेशानुसार त्यो कार्यन्वयन गर्नु नै पर्ने थियो ।
तर उनले कम से काम गणतन्त्रका विपक्षमा भएका साभसदहरुलाई धारणा राख्न दिन त सक्थे तर गरेनन ।
यसै गरेर देवेन्द्रलाल नेपाली नेपाली कांग्रेसको निमित्त समर्पित व्यक्ति हुन । शेरवहादुर देउपा भन्दा वरिष्ट हुन ।
पञ्चायत विरुद्धको नेपाली कांग्रेसको संघर्षमा उनको असर थाहा हुने कांग्रेसी शायद अब छैनन ।
तै पनि उनलाई डुव्न लागेको नेपाली कांग्रेसको हालतले पोलेको छ ।
अपेक्षकृत युवा वरिष्ट पत्रकार देवप्रकाश त्रिपाठी नेपाली कांग्रेसका त्यो स्थान लिने व्यक्ति हुन जहाँ उनलाई वारंवार नेकाको तर्फबाट चुनाव लड्ने प्रस्तव आउछ ।
तर उनी पदलाई भन्दा आस्था र आदर्शलाई उच्च मान्छन ।
यी तीनै जना नेका भित्रका यस्ता व्यक्तित्व हुन जो नेकाले हाल बाटो विराएको मान्यता राख्छन ।
आफ्नो अन्तकालमा नेपाली कांग्रसले अहिलेसम्म पनि गर्व गरेका नेताहरु गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले कांग्रेस छोड्नु पर्यो ।
कुलबहादुर गुरुङ्गको पुरा व्याख्यान सुन्न परिस्थितिले दिएन ।
एलिट क्लबको छोड्न नमिल्ने कार्यक्रमको कारणले बीचैमा कार्यक्रम छोड्नु पर्यो ।
तर जति पनि सुनियो त्यसमा त्यस वेलासम्मका सबै वक्ताहरुले उपलब्धी भनिएको संघीयता, धर्मनिरपेक्षता अनि गणतन्त्रको बाटो लिनुलाई नेपाली कांग्रेसले बाटो विराएको नै भने ।
नेपाली कांग्रेस कम्युनिष्टको विचारधाराको जालमा नराम्रेरी फसेको र अस्तित्वको संकट औल्याए ।
यो दुईदल बीचको आपसी कुरामा उनीहरु बीचमै राख्दा पनि पेश गरिएका तर्कहरु गहकिला नै थिए ।
गणतन्त्र कार्यन्वयन गर्ने ऐतिहासिक (?) मौका पाएका कुलबहादुर गुरुङ्ग किन आफुले पुरा गरेको त्यो जिम्मेवारीले नेपालको अस्तित्व खतरामा परेको देख्छन ।
दल बाहेक प्रजातन्त्र नै हुन्न भन्ने मान्यतालाई आत्मसात गरेका देवेन्द्रलाल नेपाली तथा देवप्रकाश त्रिपाठी किन आफ्नो दलको नेतृत्वलाई हठी र दम्भी देख्छन अनि त्यसले पार्टीलाई समाप्त पार्न सक्ने देख्छन ।
के उनीहरुले विगतमा सिंउँडीको बोटमा आँप फलाउने प्रयत्नमा साथ दिएका थिए त ?
दुर्भाग्य यस किसिमका प्रतिक्रिया त्यो कार्यक्रममा भाग लिनेहरुबाट चर्चा भएन ।
संभवत अव नेपाली कांग्रेस पृष्टभुमिका संघसंस्थाले उनीहरुलाई विराटनगरमा आमन्त्रण गर्ने छैन ।
उनीहरुलाई काँडाले राम्रो देखिने सिंउडीबाट आँप फलाउन गरेको व्यर्थ्य प्रयत्नको आभाष भैसक्यो ।
तर सत्तालोलुप भिड भने अझै सिंउँडीको बोटमा आँप फलाउने प्रयत्न गर्दैछ ।
यो प्रवृत्ति नेकामा मात्र हैन सबै दलमा छ , सबै दलमा आफ्नो त्यो प्रयत्न व्यर्थ्य भएको अनुभुति हुनेहरु पनि छन ।
तर अव आफ्नो मेहेनतको फल जसरी भए पनि प्राप्त गर्ने होडबाजीमा लाग्न ठिक सम्झनेहरु छन ।
तीनीहरु आफ्नो नेतृत्वलाई माथीको किस्सामा नटले जस्तै गरेर मुलुकमा चमत्कारिक परिवर्तन गरोस भन्ने चाहान्छन ।
तर ढोल नबजी ती नेताहरुको क्षमता देखिन्न र त्यो ढोल हो कसैको विरोध गर्न पाउनु ।
जीवनभर उनीहरुको अनुभव र विज्ञता नै विरोध हो त्यसैले उनीहरुबाट अरु आशा गर्नु भनेको नै सिंउडीको बोटबाट फल्ने आँप खान खोज्नु हो ।
स्वयम्भुनाथ कार्की
विराटनगर १
२०७५।१०।८
घटना र विचार



















