विराटनगर ।प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सोलुखुम्बुमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशसिंह कार्की निर्वाचित भएका छन्। आइतबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार कार्कीले १३ हजार १६६ मत प्राप्त गर्दै बिजय हासिल गरेका हुन्।

निर्वाचन परिणाम अनुसार उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार अशिम राईले नौ हजार ४१४ मत पाए। नेकपा (एमाले)की उम्मेदवार कल्पना राई आठ हजार २२८ मतसहित तेस्रो स्थानमा सीमित भइन्।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ऋषिधन थुलुङ राईले तीन हजार ६४२ मत प्राप्त गर्दै चौथो स्थानमा रहे। श्रम संस्कृति पार्टीका उम्मेदवार वियस राईले तीन हजार ३६३ मत पाएका छन्।

अन्तिम मतगणना परिणाम सार्वजनिक भएसँगै सोलुखुम्बुबाट प्रतिनिधिसभामा कार्कीको प्रवेश सुनिश्चित भएको नारायण श्रेष्ठले जानकारी दिए।