विराटनगर । ११६औँ अन्तर्राष्ट्रिय महिला दिवस २०८२ को अवसरमा “सबै महिला तथा बालिकाका लागि अधिकार, न्याय र कार्यसहितको अवसर” भन्ने नारासहित विराटनगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको सहयोगमा गैसस महासंघ मोरङ र मानव अधिकार सञ्जाल विराटनगरको आयोजनामा कार्यक्रम गरिएको हो। कार्यक्रममा विभिन्न संघसंस्था, सञ्चारकर्मी, प्रहरी तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका विशिष्ट अतिथि सामाजिक विकास मन्त्री राम प्रसाद महतोले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा बोल्दै उनले महिला सम्बन्धी कार्यक्रमलाई मन्त्रालयले उच्च प्राथमिकतामा राख्दै अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। महिला सशक्तिकरण, समान अधिकार तथा अवसर सुनिश्चित गर्न प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए।
कार्यक्रममा सामाजिक विकास महाशाखा प्रमुख दुर्गा बरालले “कोशी प्रदेशमा महिलाको अवस्था, चुनौती, सम्भावना र अवसर” विषयक कार्यपत्र प्रस्तुत गर्दै प्रदेशमा महिला अधिकारको वर्तमान अवस्था, देखिएका चुनौती तथा आगामी सम्भावनाबारे प्रकाश पारे।
त्यसैगरी कार्यक्रममा डिएसपी कोपिला चुडाल र नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष सुसिला पाठकले आ–आफ्नो धारणा राख्दै महिला अधिकार, सुरक्षा र सशक्तिकरणका विषयमा जोड दिएका थिए।
गैसस महासंघ मोरङका अध्यक्ष विष्णु शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी सबै संघसंस्था, सञ्चारकर्मी, प्रहरी तथा उपस्थित सम्पूर्णलाई अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना व्यक्त गरिएको थियो।


























