मोरङ। क्षेत्र नं ३, फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य पदका नेकपा एमालेकाे क्षेत्र ३ का उम्मेदवार इरनकुमार राईले मोरङ क्षेत्र नं ३ का सबै वडाहरूमा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न गरेका छन् । सुन्दरहरैंचा नगरपालिकाअन्तर्गतका हिजो वडा नं. १, ११ र १२ तथा आज वडा नं ८, ९ र १० मा धन्यवाद ज्ञापन कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रम वडा कमिटीका अध्यक्षहरू क्रमश : वडा नं. १ मा विनोद चौधरी, वडा नं. ८ मा गंगाबहादुर अधिकारी, वडा नं ९ मा शंकर खड्का, वडा नं १० मा तेज गिरी, वडा नं ११ मा हरिकृष्ण कटुवाल र वडा नं १२ मा टीकाप्रसाद सुवेदीको अध्यक्षतामा धन्यवाद कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा उम्मेदवार इरनकुमार राई, पार्टी प्रदेश सदस्य प्रकाश राई, प्रदेश सल्लाहकारहरू धनमाया तामाङ, वासु थापा, चन्द्र न्यौपाने र वीरेन्द्र श्रेष्ठ, मोरङ जिल्ला उपसचिव सन्तोष बान्तावा, जिल्ला सदस्यहरू रोशनप्रसाद ढकाल, मातृकाप्रसाद ढकाल, इन्द्र भट्टराई, रुजा घिमिरे, तुलसा आचार्य, नगर कमिटी अध्यक्ष डिल्ली ढकाल, नगर कमिटी उपसचिव खगेन्द्र सेंदान, बेलबारी नगर कमिटी सदस्य कृष्ण गुरुङ, वाम-बुद्धिजीवी अमृतप्रसाद आचार्यको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा उम्मेदवार रहेका इरनकुमार राईले मतदाता र पार्टीका कार्यकर्ताहरूलाई धन्यवाद ज्ञापन गर्दै यही एउटा निर्वाचनको परिणामबाट नअत्तालिई पार्टीलाई सबल बनाउन राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक नेतृत्व गरी आफ्ना योजना र प्रतिबद्धताहरू पूरा गर्नतिर सिङ्गो पार्टी लाग्नुपर्ने बताए । एमालेले यो चुनावमा कम मरिमाणको परिणाम ल्याउनुमा एमालेले गरेको तीव्र विकास र समृद्धिका आधारहरूबाट देशी-विदेशी प्रतिक्रियावादीहरू, विस्तारवादीहरू, यथास्थितिवादीहरू र पश्चगामीहरूले जनताहरूमा अनेकौं भ्रमहरू छरेर एमालेलाई घेराबन्दी गरेको बताए । राईले निर्वाचनमा हारजित जे भए पनि चुनावपछि उम्मेदवारहरू जनता र कार्यकर्ताहरूमा नगएको व्यापक जनगुनासो रहेको हुनाले आफू कार्यकर्तामाझमा आइपुगेको र जनताको तहमा पनि समय मिलाएर जाने बताए ।
कार्यक्रममा अधिकांश कार्यकर्ताहरूले भोट कम आउनुका कारणहरू र आगामी दिनका लागि सुझावहरू राखेका थिए।




















