धरान। लागुऔषध दुव्र्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित केवाइसी पुनर्जीवन केन्द्रले आयोजना गरेको दुईदिने विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि धरानमा सुरु भएको छ।
धरान–१६ स्थित बास्केटबल कोर्टमा जारी प्रदेशस्तरीय प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरू सहभागी छन्। आयोजकका अनुसार विभिन्न विद्यालयका १३ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिताका विजेताले २५ हजार रुपैयाँ र उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने प्रतियोगिताको समापन शनिबार गरिने कार्यक्रम छ।
प्रतियोगिताका संयोजक अनिस गुरुङका अनुसार कार्यक्रमको मुख्य उद्देश्य विद्यालयस्तरका बालबालिकामा खेलप्रति रुचि अभिवृद्धि गर्नुका साथै बढ्दो लागुऔषध प्रयोगविरुद्ध सचेतना फैलाउनु हो। “युवाहरूमा बढ्दो दुव्र्यसन न्यूनीकरण गर्नु हाम्रो अभियान हो,” उनले भने, “खेलकुदमा आवद्ध हुने युवाहरू अनुशासित, जिम्मेवार र लक्ष्यप्रति केन्द्रित बन्ने भएकाले कुलततर्फ आकर्षित हुने सम्भावना कम हुन्छ।”
उनका अनुसार पछिल्लो समय युवापुस्तामा लागुऔषध प्रयोगको प्रवृत्ति बढ्दो चिन्ताको विषय बनेको छ। साथीभाइको दबाब, जिज्ञासा, तनाव व्यवस्थापनको अभाव र गलत संगतका कारण किशोर–किशोरीहरू दुव्र्यसनतर्फ आकर्षित हुने गरेका छन्। यस्तो अवस्थामा खेलकुद प्रभावकारी माध्यम बन्न सक्ने आयोजकको विश्वास छ।
खेलकुदले शारीरिक तन्दुरुस्ती मात्र होइन, मानसिक सन्तुलन, आत्मविश्वास, अनुशासन र सकारात्मक सोच विकास गर्न मद्दत गर्छ। नियमित अभ्यास र प्रतिस्पर्धाले युवाहरूलाई समयको सदुपयोग गर्न प्रेरित गर्नुका साथै उनीहरूलाई लक्ष्यप्रति प्रतिबद्ध बनाउँछ। यसले उनीहरूलाई लागुऔषधजस्ता हानिकारक बानीबाट टाढा राख्न सहयोग पुग्ने विश्वास लिइएको छ।
आयोजकका अनुसार प्रतियोगिताको क्रममा खेलसँगै सचेतनामूलक सन्देशहरू पनि प्रवाह गरिनेछ। सहभागी विद्यार्थीहरूलाई लागुऔषधको असर, त्यसबाट हुने शारीरिक तथा मानसिक क्षति र त्यसबाट जोगिने उपायबारे जानकारी गराउने योजना छ।
यस्ता कार्यक्रमले विद्यार्थीहरूमा खेलप्रति आकर्षण बढाउनुका साथै सामाजिक जिम्मेवारीबोध विकास गराउने अपेक्षा गरिएको छ। खेलमार्फत स्वस्थ जीवनशैली अपनाउने संस्कार बसाल्दै सभ्य र सचेत समाज निर्माणमा योगदान पुर्याउने लक्ष्य आयोजकको छ।




















