विराटनगर। कोशी प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सुरु भएको छ । पहिलो दिनको परीक्षा सकिए लगत्तै उत्तर पुस्तिका संकलन तथा प्रक्रियागत कार्यपछि दिउसोदेखि उत्तरपुस्तिका परीक्षण कार्य सुरु गरिएको शिक्षा विकास निर्देशनालयका निर्देशक कृष्णप्रसाद पोखरेलले जानकारी दिए ।

‘पहिलो दिनको परीक्षा शान्तपुर्वक सकियो’ उनले भने, ‘उत्तरपुस्तिका परीक्षण कार्य सुरु भएको छ ।’ प्रदेशमा तीन सय ३२ परीक्षा केन्द्र कायम गरिएको छ । जसमा उत्तरपुस्तिका परीक्षण कार्य सुरु भइसकेको जनाईएको छ । प्रदेशभर तीनसय ३२ केन्द्राध्यक्ष र ५ सय ४६ सहायक केन्द्राध्यक्ष रहेका छन् ।

चार हजार ६३ जना निरीक्षक, आठ सय १३ परीक्षा सहायक सहित ७ हजार ३ सय ६९ संख्या खटिएका छन् । परीक्षा सञ्चालनका लागि कुल १२ हजार ३ सय ४९ जनशक्ती परिचालन गरिएको छ । पहिलो दिन बिहिबार अनिवार्य अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ ।

एक महिना भित्र नतिजा सार्वजनिक गर्ने योजना अनुसार परीक्षा जहा“ भएको हो, त्यहींबाट उत्तरपुस्तिका परीक्षण गर्न लागिएको पोखरेलले बताए । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा सस्मित पोखरेल नियुक्त भएपछि एसईईको नतिजा एक महिना भित्र सार्वजनिक गर्न निर्देशन दिएका थिए ।पहिलो पटक सम्बन्धित परीक्षा केन्द्रबाटै उत्तरपुस्तिका परीक्षण कार्य सुरु भएको हो ।

अघिल्ला वर्षहरुमा गोप्यरुपमा परीक्षण केन्द्र तोक्ने गरिदै आएको थियो । उक्तक्रममा एउटा प्रदेशको उत्तरपुस्तिका अर्को प्रदेशमा लगेर परीक्षण गर्ने गरिएको थियो । यस वर्षदेखि सम्बन्धित परीक्षा केन्द्रबाटै परीक्षण थालिएको छ । विगतमा चैतमा लिइने एईई परीक्षाको नजिता असार महिनामा मात्र सार्वजनिक हुने गरेको थियो ।

परीक्षा सञ्चालनका लागि निर्देशानालय मार्फत ५ करोड ४० लाख बजेट विनियोजन भएको निर्देशक पोखरेलले जानकारी दिए । परीक्षामा प्राविधिकधार र साधारण गरी दुई प्रकारका विद्यार्थी सामेल रहने छन् । प्राविधिक धारतर्फ ३ हजार १ सय ५८ परीक्षार्थी रहेका छन् । कोशी प्रदेशमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ८० हजार ९ सय १० जना परिक्षार्थी सहभागी भएका छन् । जसमध्ये अनुपस्थित हुनेको तथ्याङ्क भने प्राप्त हुन सकेको छैन ।