काठमाडौं।स्थानीय बजारमा साताको पहिलो कारोबार दिनमै सुन तथा चाँदीको मूल्यमा गिरावट देखिएको छ।जसले पछिल्ला दिनको उकालो प्रवृत्तिलाई केही हदसम्म ब्रेक लगाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ हजार ६ सय रुपैयाँले घट्दै २ लाख ९१ हजार ४ सय रुपैयाँमा कायम भएको छ । अघिल्लो कारोबार दिन आइतबार भने सुन २ लाख ९४ हजार रुपैयाँमा किनबेच भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि सामान्य रूपमा घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ५० रुपैयाँले ओरालो लाग्दै ४ हजार ७८० रुपैयाँमा झरेको छ । आइतबार चाँदी ४ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारको मूल्य प्रवृत्ति, विनिमय दर र स्थानीय माग–आपूर्ति सन्तुलनका कारण बहुमूल्य धातुको मूल्यमा दैनिक उतारचढाव देखिने गरेको व्यवसायीहरू बताउँछन् ।