विराटनगर। २० चैत्र २०८३ छन्दवाटिका नेपालको आयोजनामा कवि लोचन रिजालको खण्डकाव्य ‘भोगाइ’ सार्वजनिक गरिएको छ।
हरि कट्टेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल रहेका थिए भने विशिष्ट अतिथिमा गङ्गा सुवेदी, प्राज्ञ खेम नेपाली, अग्रज साहित्यकार बलराम पोखरेल लगायतको उपस्थिति रहेको थियो। अतिथिहरू र लेखकपत्नीले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका हुन्।
कृतिमाथि समीक्षक बाबुराम पोखरेलले समीक्षात्मक टिप्पणी गर्दै खण्डकाव्य प्रेम र राष्ट्रवादको भावमा केन्द्रित रहेको बताए। त्यस्तै समालोचक प्राध्यापक कविराज पोखरेलले काव्य कथाले समाजको यथार्थ बोलेको उल्लेख गरे। प्राज्ञ खेम नेपालीले कृतिमा सुकुम्बासी पात्रको पीडा सशक्त रूपमा प्रस्तुत भएको धारणा राखे।
अध्यक्ष हरि कट्टेलले कृति आकारमा लघु भए पनि आख्यान प्रस्तुतीका हिसाबले पूर्ण खण्डकाव्यका रूपमा स्थापित भएको बताए। उनले यसलाई सामाजिक विषयवस्तुमा आधारित स्वैरकाल्पनिक काव्यका रूपमा व्याख्या गर्दै कविको लेखनीप्रति प्रभावित भएको व्यक्त गरे।
समारोहमा बलराम पोखरेल, गङ्गा सुवेदी तथा केशु विरहीले सर्जकलाई सफलताको शुभकामना दिएका थिए। कार्यक्रममा सुनसरी र मोरङका साहित्यकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
‘भोगाइ’ कवि लोचन रिजालको छैटौँ कृति हो, जसलाई छन्द वाटिका नेपालले प्रकाशनमा ल्याएको हो। कार्यक्रममा साहित्यकार निर्मला कोइरालाले स्वागत मन्तव्य राखेकी थिइन् भने सञ्चालन संस्थाका सचिव चिरन्जीबी काफ्लेले गरेका थिए।




















