विराटनगर । विराटनगर महानगरपालिका–१२ स्थित मंगलबारे हाट लाग्ने क्षेत्र नजिक हनुमान मन्दिर पछाडिको ताराचन कामतको घरमा गएराती चोर लागेको छ।

 बस्तीमा पछिल्लो केही दिनयता चोरी तथा आतंकका घटना बढ्न थालेका छन् । स्थानीयका अनुसार चोर समूहले रातिको समयमा घरमा ढुंगा फालेर सर्वसाधारणलाई तर्साउने गरेको छ ।

गएराति पनि चोरले ताराचनको घर झ्यालको सिसा फुटाएर आतंक मच्चाएको थियो । घरका सदस्य बाहिर निस्किएपछि चोर घरभित्र प्रवेश गरी सानो बच्चालाई कोठाभित्र थुनेर घरमा रहेको नगद लुटेर फरार भएको पीडित कामतको परिवारले जनाएको छ ।

घटनापछि स्थानीयवासी त्रसित बनेका छन् । उनीहरूले रातिको समयमा सुरक्षा व्यवस्था कडा बनाउन तथा चोरीमा संलग्नलाई तत्काल पक्राउ गर्न प्रहरी प्रशासनसँग माग गरेका छन् ।