गण य य य य

सूत्र iss iss iss iss

सुधा साधु बन्दै लिई पुष्प जाऊ

सुनौलो धरामा तिमी मुस्कुराऊ

सधैँ स्वच्छ बग्नू बनी दिव्य धारो

मलाई छ यो बुद्धको देश प्यारो ।।१


हिमाली दरामा रमेको छ हाँस

पहाडी गरामा फुलेको गुराँस

कतै ग्रीष्म गर्मी कतै ओस साह्रो 

मलाई छ यो बुद्धको देश प्यारो ।।२


जहाँ गर्छ खेती मिलेरै किसान

त्यहीँ फल्छ राम्रो मकै इक्षु धान

सबैले भरेको छ धन्सार च्वारो

मलाई छ यो बुद्धको देश प्यारो।। ३


हिमाली पहाडी कतै छौँ मधेसी

कतै आर्य छेत्री कतै छौँ हलेसी

पृथक् धर्म भाषा यही रीति हाम्रो

मलाई छ यो बुद्धको देश प्यारो ।।४


मिली तीन रेखा बनेको त्रिकोण

छ झन्डा पृथक् विश्वमा नै सुवर्ण 

कतै शैल अग्ला कतै फाँट सेरो

मलाई छ यो बुद्धको देश प्यारो।।५

✍️ डिल्लीराज घिमिरे (सङ्गम)

भूमिकास्थान ९ अर्घाखाँची