विराटनगर । साहित्यकार महेन्द्र न्यौपाने को लघुकथासंग्रह ‘चुनावी सेरोफेरो’ माथि विराटनगरमा साहित्यिक विमर्श सम्पन्न भएको छ । नेपाली लेखक संघ द्वारा आयोजित कार्यक्रममा वक्ताहरूले कृतिले समकालीन राजनीति, चुनावी संस्कार र सामाजिक यथार्थलाई प्रभावकारी ढंगले उजागर गरेको बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि अग्रज साहित्यकार तथा पत्रकार गिरिराज आचार्य ले लोकतान्त्रिक संस्कृतिमा देखिएका विकृति र नागरिक चेतनामाथि कृतिले गम्भीर प्रश्न उठाएको धारणा राखे । उनले साहित्य समाजलाई दिशाबोध गराउने माध्यम भएको उल्लेख गरे ।
संघका प्रदेश अध्यक्ष गोकुल अधिकारी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार कृष्ण अधिकारी ले संग्रहले चुनावका बेला देखिने अवसरवाद, आश्वासन र जनअपेक्षाबीचको द्वन्द्वलाई तीक्ष्ण रूपमा प्रस्तुत गरेको बताए ।
कार्यक्रममा विवश पोखरेल लगायतका वक्ताहरूले नेपाली राजनीतिमा बढ्दो मूल्यहीनता र अस्वस्थ चुनावी प्रतिस्पर्धालाई साहित्यले दस्तावेजीकरण गर्न थालेको उल्लेख गर्दै ‘चुनावी सेरोफेरो’ लाई समसामयिक कृतिका रूपमा व्याख्या गरेका थिए ।
लेखक न्यौपानेले समाजमा देखिएका राजनीतिक व्यवहार र आमनागरिकका अनुभूतिलाई लघुकथामार्फत अभिव्यक्त गर्ने प्रयास गरेको बताए । कार्यक्रमको सञ्चालन मीनकुमार नवोदित र लक्ष्मी रायमाझी ले गरेका थिए भने स्वागत मन्तव्य बासुदेव पोखरेल ले व्यक्त गरेका थिए ।




















