विराटनगर । डिजिटल माध्यमको बढ्दो प्रभावबीच विराटनगरमा पहिलो पटक आयोजित ‘हिमालय रोड किताब मेला’ले पठन संस्कृतिको विकास र साहित्यिक चेतनाको विस्तारबारे नयाँ बहस जन्माएको छ।
पुस्तक, पाठक र साहित्यबीचको सम्बन्ध सुदृढ बनाउने उद्देश्यले आयोजित मेलामा साहित्य, भाषा, कला र संस्कृतिसम्बन्धी अन्तरक्रिया तथा विमर्श कार्यक्रम सम्पन्न भएका छन्। विभिन्न सत्रमा सहभागी साहित्यकारहरूले विराटनगरको साहित्यिक योगदानको चर्चा गर्दै यसको संरक्षण र प्रवर्द्धनमा जोड दिएका थिए।
मेलामा राष्ट्रिय तथा स्थानीय प्रकाशनका पुस्तकहरू प्रदर्शनीमा राखिनुका साथै २५ प्रतिशतसम्म छुटमा बिक्री गरिएको थियो। आयोजकका अनुसार युवापुस्तालाई पुस्तकसँग जोड्ने र पठन संस्कृतिलाई पुनर्जीवित गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो।
सहभागीहरूले यस्ता कार्यक्रमलाई नियमित र संस्थागत बनाउनुपर्ने आवश्यकता औंल्याउँदै पुस्तक मेला ज्ञान, विचार र संस्कृतिको साझा मञ्च बन्न सक्ने बताएका छन्।



















