आठ महिनापछि सुनकोशी–मरिन आयोजनाले पायो गति
- जेठ १८, २०८३
- १०७ पटक पढिएको
काठमाडौं । आठ महिनादेखि ठप्प रहेको सुनकोशी–मरिन बहुउद्देशीय डाइभर्सन आयोजनाको निर्माण कार्य पुनः अघि बढ्ने भएको छ। सरकारले बाँध, विद्युत् गृहलगायत संरचना निर्माणका लागि एक साताभित्र नयाँ ठेक्का आह्वान गर्ने तयारी गरेको हो।
यसअघि निर्माणमा ढिलासुस्ती भएपछि भारतीय कम्पनी पटेल इन्जिनियरिङ र नेपाली कम्पनी रमण कन्स्ट्रक्सनसँग भएको १४ अर्ब ७ करोड रुपैयाँको ठेक्का रद्द गरिएको थियो। ठेक्का रद्दपछि कार्यसम्पादन जमानत तथा अग्रिम भुक्तानीबापतको करिब ३ अर्ब ६० करोड रुपैयाँ सरकारको खातामा फिर्ता भइसकेको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेटमा आयोजनाका लागि २ अर्ब ९२ करोड रुपैयाँ विनियोजन गरिएको छ। आयोजना सम्पन्न भएपछि मधेशका पाँच जिल्लाका करिब १ लाख २० हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने तथा ३१.०७ मेगावाट विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ।




















