मैले आफ्नै सपनाका लासहरू गनेको छु ।

पटक पटक

कहिले उज्यालोसँग डराएँ ,

कहिले रातसँग हारेँ,  

 अनेक पटक

सिरानीमुनि थन्क्याइएका ती ठेलीहरू साक्षी छन्

मैले कति चोटि आफ्नै रहरको घाँटी रेटेको छु।

अनि कति रात अनिँदो आँखामा ,

“नामको “चित्र कोरेको छु

हो म चिच्याउँछु यो शून्यतामा

जहाँ मेरा स्वरहरू भित्तामा ठोक्किएर, 

 मैतिर फर्कन्छन्

मेरा चीत्कारहरू ऐनका धारा र नियमका दफाहरूमा थर्कन्छन्।

म कराउँछु कण्ठ गरेका ती 

मिति र तथ्याङ्कहरू बीचमा

कतै हराएको आफ्नै अस्तित्वको खोजीमा

तर सुन्नुस्

मेरो यो हार विराम होइन एउटा मूर्छा मात्र हो।

हरेक पटक ढल्नु फेरि उठ्ने एउटा नयाँ आधार हो।

म हारेको छु त के भयो ? 

म मरेको त छैन

मेरो सपनाको पखेटामा 

अझै बारूदको गन्ध सकिएको छैन।

अँध्यारो रातलाई संहालेर राखेको छु ।

एउटा दियो बाल्नलाई

थुप्रिएका असफलतालाई खुड्किलो बनाएर

 सगरमा पाल्नलाई

अबको उडान

 कुनै सानो चरोको जस्तो हुने छैन

यो त बाजको उडान हुनेछ।

जसले हुरीसँग जुध्दै ,

बादल चिरेर,

आफ्नै साम्राज्यको क्षितिज चुम्नेछ।

म हारेर पनि नथाकेको ,

एउटा जिउँदो इतिहास हुँ।

म आफ्नै जीवनको मैदानमा खडा आफ्नै सपनाको अविजेता हु।


जमुना क्षेत्री

इटहरी