मैले आफ्नै सपनाका लासहरू गनेको छु ।
पटक पटक
कहिले उज्यालोसँग डराएँ ,
कहिले रातसँग हारेँ,
अनेक पटक
सिरानीमुनि थन्क्याइएका ती ठेलीहरू साक्षी छन्
मैले कति चोटि आफ्नै रहरको घाँटी रेटेको छु।
अनि कति रात अनिँदो आँखामा ,
“नामको “चित्र कोरेको छु
हो म चिच्याउँछु यो शून्यतामा
जहाँ मेरा स्वरहरू भित्तामा ठोक्किएर,
मैतिर फर्कन्छन्
मेरा चीत्कारहरू ऐनका धारा र नियमका दफाहरूमा थर्कन्छन्।
म कराउँछु कण्ठ गरेका ती
मिति र तथ्याङ्कहरू बीचमा
कतै हराएको आफ्नै अस्तित्वको खोजीमा
तर सुन्नुस्
मेरो यो हार विराम होइन एउटा मूर्छा मात्र हो।
हरेक पटक ढल्नु फेरि उठ्ने एउटा नयाँ आधार हो।
म हारेको छु त के भयो ?
म मरेको त छैन
मेरो सपनाको पखेटामा
अझै बारूदको गन्ध सकिएको छैन।
अँध्यारो रातलाई संहालेर राखेको छु ।
एउटा दियो बाल्नलाई
थुप्रिएका असफलतालाई खुड्किलो बनाएर
सगरमा पाल्नलाई
अबको उडान
कुनै सानो चरोको जस्तो हुने छैन
यो त बाजको उडान हुनेछ।
जसले हुरीसँग जुध्दै ,
बादल चिरेर,
आफ्नै साम्राज्यको क्षितिज चुम्नेछ।
म हारेर पनि नथाकेको ,
एउटा जिउँदो इतिहास हुँ।
म आफ्नै जीवनको मैदानमा खडा आफ्नै सपनाको अविजेता हु।
जमुना क्षेत्री
इटहरी




















