विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशले १०० जना भन्दा बढी खेलाडी, अग्रज खेलकर्मी र खेलकुद पत्रकारहरू सम्मानित भएका छन्।
प्रदेश खेलकुद विकास बोर्डले वार्षिक कार्यक्रम अनुरुप विभिन्न अन्तर्राष्ट्रिय, राष्ट्रिय स्तरको खेलकुद प्रतियोगितामा पदक विजेता कोशी प्रदेशका खेलाडीहरू, अग्रज खेलकर्मीहरू र खेलकुद पत्रकारहरू लाई नगदसहित सम्मान गरेको हो।
बोर्डले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको वर्गीकरण गर्दै पदक प्राप्त गर्ने खेलाडीहरूलाई पदक अनुसार नगदसहित सम्मान गरेको हो। कार्यक्रममा बोर्डले एसबिआई प्रथम पहिलो दृष्टिबिहीन महिला क्रिकेटमा दोस्रो स्थान हासिल गर्ने कोशी प्रदेशका खेलाडीद्वय प्रतिभा राई र सुनिता भुजेललाई १ लाखसहित सम्मान गरेको थियो । त्यस्तै, प्रतियोगितामा महिला टोलीका प्रशिक्षक उदयपुरका नरेन्द्र निरौलालाई २५ हजारसहित सम्मान गरेको थियो।
कार्यक्रममा राष्ट्रिय कुस्ती प्रतियोगिता, ३० औँ पुरुष र ११ औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता, ४६ औँ नेशनल एथलेटिक्स च्याम्पियनसिप प्रतियोगिता ,२० औँ राष्ट्रिय जुडो प्रतियोगिता, २५ औँ राष्ट्रिय आई.टि.एफ. तेक्वान्दो प्रतियोगिता, एनएसए कप पौडी च्याम्पियनसिप, राष्ट्रिय बुद्धिचाल प्रतियोगिता नेकोस राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता, ४२ औँ राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा कास्य, रजत र स्वर्ण पदक विजेता खेलाडीहरूलाई क्रमश: जनही १५ हजार, २५ हजार र ५० हजारसहित सम्मान गरिएको थियो। उक्त खेलहरूका प्रशिक्षक र व्यवस्थापकहरूलाई समेत जनही १० हजारसहित सम्मान गरेको हो।
त्यस्तै, राष्ट्रिय यु- २० एथलेटिक्स च्याम्पियनसिपलगायत जुनियर विधाको प्रतिस्पर्धामा कास्य पदक विजेतालाई ६ हजार र रजत पदक विजेतालाई ८ हजार सम्मान गरिएको थियो।
घोषले दुबईमा सम्पन्न एसियाली युथ पारा गेम्स अन्तर्गतको टेबलटेनिसको यु-२३ सिंगल्स( क्लास ७) प्रतियोगितामा रजत पदक प्राप्त गर्न सफल स्वीकृत न्यौपानेलाई समेत ५० हजार नगदले सम्मान गरिएको थियो।























