धरान। उपमहानगरपालिका क्षेत्रभित्र रहेका धार्मिक तथा पर्यटकीय गन्तव्यहरूको संरक्षण, विकास र प्रवद्र्धनमा बृहत्तर बराहक्षेत्र विकास समितिको भूमिका तथा सम्भावनाबारे धरानमा अन्तरक्रिया गरिएको छ । 

बृहत्तर बराहक्षेत्र विकास समितिको आयोजनामा बुधबार आयोजित कार्यक्रममा धरानको धार्मिक सम्पदा, प्राकृतिक सौन्दर्य तथा सांस्कृतिक विविधतालाई पर्यटनसँग जोड्दै स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन बृहत्तर बराहक्षेत्र विकास समितिले नेतृत्वदायी भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

 पिण्डेशवर वावाधाम समितिका अध्यक्ष विकास बनेपाली, १४ नं. वडाका वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, समाजसेवा डा. राजेन्द्र शर्मा, शनि मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जुद्ध लोहानी, भ्रमण बर्ष २०८२ निर्देशक समिति सदस्य बासुदेव बराललगायतले धरान, बराहक्षेत्र र रामधुनीलाई जोडेर धार्मिक सर्किट बनाएर धार्मिक पर्यटन प्रवद्धन गर्न सकिने सुझाव दिएका थिए ।  

कार्यक्रममा धरान, बराहक्षेत्र, भेडेटार तथा आसपासका धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रलाई एकीकृत रूपमा विकास गरी धार्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न आवश्यक नीति, योजना र सहकार्यबारे छलफल गरिएको समितिका कार्यकारी निर्देशक अभिजाल विष्टले जानकारी दिए । 

प्रमुख अतिथि धरान उपमहानगरपालिकाका प्रमुख आइन्द्रविक्रम बेघाले धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार तथा सरोकारवाला निकायबीचको समन्वयबाट मात्र सम्भव हुने उल्लेख गर्दै धरानका धार्मिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा उपमहानगरपालिकाले आवश्यक सहकार्य गर्ने प्रतिबद्धता जनाए । समितिका सदस्य प्रह्लाद भट्टराईले समितिको भूमिका र आगामी योजनाबारे अवगत गराएका थिए । 

बृहत्तर बराहक्षेत्र विकास समितिले आफ्नो गतिविधिलाई प्रभावकारी बनाउन धनकुटाको भेडेटारमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । धरानमा पनि सम्पर्क कार्यालय राखिएको निर्देशक विष्टले जानकारी दिए । उदयपुर, सुनसरी र धनकुटा जिल्लाका बराहक्षेत्र धाम आसपासका पालिकाहरु कार्यक्षेत्र रहेको समितिले धार्मिक पर्यटन प्रवद्धनका लागि अन्र्तक्रिया र छलफल गदैं आएको छ । 

समितिका कार्याकारी निर्देशक विष्टका अनुसार अनुसार असार २२ गते सागुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राई, सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राई तथा समितिका अध्यक्ष प्रकाश बस्नेतले संयुक्त रूपमा भेडेटारस्थित सम्पर्क कार्यालयको उद्घाटन गरे।

समितिले चतरा, बराहक्षेत्र, धरान, भेडेटारलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रबीच समन्वय, प्रचारप्रसार र पर्यटन प्रवद्र्धनलाई थप प्रभावकारी बनाउन सम्पर्क कार्यालय स्थापना गरिएको जनाएको छ ।

समितिका पदाधिकारीहरूले सम्पर्क कार्यालय सञ्चालनसँगै धार्मिक पर्यटनको एकीकृत विकास, तीर्थयात्री तथा पर्यटकको सुविधामा विस्तार, स्थानीय तहसँग सहकार्य र पर्यटन पूर्वाधार विकासका कार्यक्रमलाई तीव्रता दिइने बताए।