विराटनगर।कोशी अस्पतालको स्वामित्वमा रहेको अतिक्रमित जग्गा सोमबार बिहान खाली गराइएको छ । अस्पतालको जग्गा मिचेर विभिन्न संघ–संस्थाले व्यावसायिक प्रयोगका लागि निर्माण गरेका ३२ वटा सटरमा आज बिहानै डोजरले खाली गराएको हो। वर्षौँदेखिको अतिक्रमण अन्त्य भएको अस्पताल प्रशासनले जनाएको छ ।
गृहमन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनपछि अस्पताल प्रशासनले सात दिनभित्र संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको थियो। निर्धारित समय सकिएसँगै सोमबार बिहानै तीनवटा डोजर परिचालन गरी विराटनगर महानगरपालिका–७ को अस्पताल चोक र देवकोटा चोक आसपासका संरचना हटाइएको थियो।
देवकोटा पुस्तकालय, नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था र गणेश मन्दिर समितिले भाडामा लगाएका २६ वटा तथा अस्पतालकै स्वामित्वमा रहेका ६ वटा गरी कुल ३२ वटा व्यावसायिक सटर हटाइएको छ।
संरचना हटाउने क्रममा सम्भावित अवरोध रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। घटनास्थलमा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवाललगायत सुरक्षा अधिकारीको उपस्थितिमा डोजर परिचालन गरिएको थियो ।
अस्पताल प्रशासनले हाललाई नेपाल क्षयरोग निवारण संस्था, ब्लड बैंक, देवकोटा पुस्तकालय र गणेश मन्दिरका मूल संरचना तत्कालका लागि यथावत् राखिएको बताएका छन्।



















