दाङ । (भारत) । चारु साहित्य प्रतिष्ठानको आठौँ वार्षिकोत्सव भारतको गोरखपुरमा सम्पन्न भएको छ। कार्यक्रममा भारतका वरिष्ठ साहित्यकार नन्दलालमणि त्रिपाठी ‘पीताम्बर’ प्रमुख अतिथिका रूपमा सहभागी थिए।

वार्षिकोत्सवको अवसरमा पी.एस. यादव (उत्तर प्रदेश), मिलन सिंह मधुर, शारदा मदरा शर्मा (दिल्ली) तथा दीपक पनेरू (सर्लाही) का एक–एक गरी चारवटा चारुसङ्ग्रहको विमोचन गरिएको थियो।

सोही अवसरमा नेपाल र भारतका दुई दर्जनभन्दा बढी चारुकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। सम्मानित हुनेहरूमा भारतबाट दीपक गोस्वामी, अतुल कुमार शर्मा, पी.एस. यादव, नन्दलालमणि त्रिपाठी, गोपाल ठहाका तथा अस्थाना महेश प्रकाश रहेका थिए। त्यसैगरी नेपालबाट डा. घनश्याम परिश्रमी, बाबू विराज पोख्रेल, लक्ष्मीप्रसाद मिश्र, बाबुराम पाण्डे, अनुराग अरुण, चन्द्रावती अधिकारी, स्वर्ण शिखा, पोम रेग्मी, अरुण खड्का, तेजप्रसाद खनाल, नागेन्द्र यादव, सन्जना शर्मा, एकनारायण चापागाईं, सोमनाथ लुइँटेललगायतका स्रष्टा सम्मानित भएका थिए।

कार्यक्रममा चारु गीत तथा थारु नृत्य प्रस्तुत गरिएको थियो भने चारु र गजल वाचनले विशेष आकर्षण थपेको थियो। कार्यक्रममा बोल्दै चारु साहित्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष देवी पन्थीले चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशले सञ्चालन गरेको स्रष्टा भ्रमण कार्यक्रमको प्रशंसा गरे। उनले उक्त कार्यक्रममार्फत चारु साहित्यलाई पर्यटनसँग जोड्ने प्रयास सराहनीय रहेको बताए।

वार्षिकोत्सवले नेपाल–भारतबीचको साहित्यिक सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै चारु साहित्यको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।