आज २४ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
- साउन २, २०८३
- १०२ पटक पढिएको
काठमाडौं। साउन २ — अविरल वर्षासँगै देशका विभिन्न जिल्लाका साना नदी तथा खोलामा आज पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले नदी किनार, तटीय क्षेत्र तथा पहिरोको जोखिम भएका स्थानमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन, पाल्पा, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम पश्चिम, डोटी, बझाङ, कैलाली र कञ्चनपुर लगायत जिल्लाबाट बग्ने साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ।
महाशाखाका बाढीविद् विनोद पराजुलीले ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी तथा खोला आसपास बसोबास गर्ने नागरिक, सडक प्रयोगकर्ता र निर्माण कार्यमा संलग्न सबैलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।
महाशाखाका अनुसार निरन्तर वर्षाका कारण पहाडी र हिमाली क्षेत्रमा नदीको बहाव बढ्ने भएकाले नदी किनार, डुबान तथा पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी आवश्यक छ।
यसैबीच, मौसम पूर्वानुमान महाशाखाले मनसुनी गतिविधि सक्रिय रहेकाले कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।
मौसमविद् डेविट ढकालका अनुसार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने भएकाले सम्भावित बाढी, पहिरो र डुबानबाट जोगिन सतर्क रहनुपर्ने अवस्था रहेको छ।




















