दोलखा,।साउन ६ — दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित सिर्पिङ खोला जलविद्युत आयोजना (सिनर्जी हाइड्रोपावर) को ड्याम नजिक अविरल वर्षापछि गएको पहिरोमा परेर एक वृद्ध सम्पर्कविहीन भएका छन्,भने चार जना कर्मचारीको सकुशल उद्धार गरिएको छ।
बुधबार बिहान करिब १ बजे गएको पहिरोले ड्याम क्षेत्रमा रहेका कर्मचारी बस्ने घर पूर्ण रूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। पहिरोका कारण जोखिममा परेका ड्यामका चार जना कर्मचारीलाई नेपाल प्रहरीले बिहान ७ः१५ बजे सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारेको छ।
त्यसैगरी, ड्याम क्षेत्रमै गोठ बनाएर बस्दै आएका गौरीशंकर गाउँपालिका–९ टासिनाम निवासी करिब ७३ वर्षीय चस्मान तामाङ (तसमान) पहिरोपछि सम्पर्कविहीन भएका छन्। पहिरोसँगै उनको गोठ बगेको प्रहरीले जनाएको छ।
पहिरोले गोठमा रहेका ७ वटा बाख्रा, ९ वटा गाई र ३ वटा गोरु समेत बगाएको छ। घटनापछि सम्पर्कविहीन तामाङको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी घटनास्थलमा सक्रिय रूपमा खटिएको छ।
स्थानीयवासी तथा अन्य सुरक्षा निकायको सहयोगमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।




















