लक्ष्मी रेग्मी घिमिरे
विराटनगर।विराटनगर। पुष्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल स्मारक समितिले सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिरहेको छ। सामाजिक, स्वास्थ्य, खेलकुद, साहित्यिक तथा जनचेतनामूलक कार्यक्रममार्फत स्मृति दिवसलाई विशेष रूपमा मनाइँदै आएको समितिले जनाएको छ।
कार्यक्रमअन्तर्गत पहिलो दिन सरसफाइ अभियान सञ्चालन गरिएको थियो। दोस्रो दिन आयोजित म्याराथुन दौड प्रतियोगितामा २०० भन्दा बढी प्रतियोगीको सहभागिता रहेको थियो। उक्त प्रतियोगिताको संयोजन बूढीगंगा गाउँपालिकाका वडा सदस्य सागर थापाले गरेका थिए।
तेस्रो दिन पारुल क्षेत्रीको संयोजनमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको थियो भने चौथो दिन स्वास्थ्य शिविर आयोजना गरी दाँत तथा आँखासम्बन्धी सेवा प्रदान गरिएको थियो।
पाँचौं दिन प्रयाग न्यौपानेको संयोजनमा काव्य गोष्ठी सम्पन्न भएको थियो। गोष्ठीमा ६५ जना सर्जकले आफ्ना रचना वाचन गरेका थिए। छैटौं दिन बिहान सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ भने साँझ पुष्पलाल चोकमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ।
समितिका अनुसार सातौं तथा अन्तिम दिन पुष्पलाल स्मृति विचार गोष्ठी, विभिन्न प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण तथा समापन कार्यक्रम आयोजना गरिनेछ।
यस सप्ताहव्यापी कार्यक्रमलाई सफल बनाउन पुष्पलाल स्मारक सामुदायिक योग साधना केन्द्रकी संयोजक लक्ष्मी रेग्मी घिमिरेको सक्रिय भूमिका रहेको आयोजकले जनाएको छ।




















