तिलोत्तमामा २६ ग्रामभन्दा बढी ब्राउन सुगरसहित एक पुरुष पक्राउ
- साउन ७, २०८३
- १०० पटक पढिएको
रुपन्देही। साउन ७ , रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ मंगलापुर चोकबाट ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण शाखा कार्यालय भैरहवा र अस्थायी प्रहरी बिट मंगलापुरबाट खटिएको संयुक्त टोलीले बिहीबार दिउँसो करिब ३ बजे शंकास्पद अवस्थामा हिँडिरहेका रोहिणी गाउँपालिका–७ निवासी ४६ वर्षीय अकवाल देवानलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार देवानको शरीर खानतलासी गर्ने क्रममा उनले लगाएको पाइन्टको गोजीमा सेतो प्लास्टिकका दुई साना पोकामा लुकाइ राखिएको ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको थियो। बरामद गरिएको उक्त पदार्थ तौल गर्दा प्लास्टिकसहित २६ ग्राम ३५० मिलिग्राम र प्लास्टिकबाहेक २६ ग्राम २९० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका देवानलाई अस्थायी प्रहरी बिट मंगलापुरको हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















