घरायसी विवादमा बाबुको चक्कु प्रहारबाट घाइते छोराको मृत्यु, बाबु पक्राउ
- साउन ८, २०८३
- १८७ पटक पढिएको
रुपन्देही।रुपन्देही तिलोत्तमा नगरपालिका–१० मैनिहवामा घरायसी विवादका क्रममा बाबुले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका छोराको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही स्थान निवासी २१ वर्षीय सरोज चौधरी रहेका छन्। चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनलाई प्रारम्भिक उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा रिफर गरिएकोमा उपचारकै क्रममा बिहीबार साँझ ४ः४० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बिहीबार बिहान करिब ७ बजे सरोज आफ्नै घरको सिँढीबाट लड्दा जमिनमा रहेको चक्कुले ढाडमा काटेर घाइते भएको भन्ने सूचना क्रिमसन अस्पतालबाट प्राप्त भएको थियो। उक्त सूचनापछि घटनास्थल पुगेर अनुसन्धान थालेको प्रहरीले घटनाको वास्तविकता फरक रहेको पत्ता लगाएको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घरायसी विवादका क्रममा सरोजका बुबा अन्दाजी ४५ वर्षीय सहसराम चौधरीले चक्कु प्रहार गरेको खुलेको छ। घटनापछि प्रहरीले सहसरामलाई नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।




















