रौतहट।साउन ८ — रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा शुक्रबार बिहान खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ।
जिल्ला प्रहरीका अनुसार शुक्रबार बिहान करिब १०:३० बजे स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी ४०/४५ वर्षीया रेनु देवी जयसवालमाथि धारिलो हतियार (खुकुरी) प्रहार हुँदा घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार बाराको करैयामाई गाउँपालिका–८ ईटहर बेलाही टोल स्थायी घर भई हाल गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा बसोबास गर्दै आएका अन्दाजी ३५ वर्षीय उपेन्द्र साह कलवारले रेनु देवीमाथि खुकुरी प्रहार गरेका हुन्।
घटनापछि आक्रोशित स्थानीयवासीले उपेन्द्रमाथि कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका उनको चन्द्रपुर अस्पताल, चन्द्रनिगाहपुरमा उपचार भइरहेको प्रहरीले जनाए।
घटनाको कारण हालसम्म खुल्न नसकेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।



















