बागलुङ। साउन १० — बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापाको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुदिप विक, रेमबहादुर विक, ददी परियार र असिम वन रहेका छन्।
प्रहरीका अनुसार साउन १ गते राति लजिन थापा आफ्ना साथी असिम वनको जन्मदिन मनाउन दगातुन्डाँडा प्राथमिक विद्यालय पुगेका थिए। त्यहाँ लजिनसहित सात जना साथीहरूले राति करिब १०:३० बजेदेखि बिहान ३ बजेसम्म मादक पदार्थ सेवन गरेका थिए।
साउन २ गते लजिन घर नफर्किएपछि उनका परिवारले इलाका प्रहरी कार्यालय गलकोटमा बेपत्ता भएको भन्दै खोजतलासका लागि निवेदन दिएका थिए। त्यसपछि प्रहरीले घटनाको अनुसन्धानलाई तीव्र बनाएको थियो।
अनुसन्धानका क्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयको प्राविधिक टोली, पोलिग्राफ परीक्षण, तालिमप्राप्त कुकुर, ड्रोन क्यामेरा तथा स्थानीयवासीहरूको सहयोगमा व्यापक खोजी अभियान सञ्चालन गरिएको थियो।
सोही क्रममा साउन ९ गते बिहान करिब ९:१५ बजे बडिगाड गाउँपालिका–१ स्थित मनखोलाको खोल्सामा लजिन थापाको शव फेला परेको प्रहरीले जनाएको छ। फेला परेको शवलाई पोस्टमार्टमका लागि धौलागिरी प्रादेशिक अस्पताल, बागलुङमा राखिएको छ।
प्रहरीले घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। उनीहरूमाथि यसअघि व्यक्ति बेपत्ता पार्न नहुने कसुरमा अनुसन्धान सुरु गरिएको थियो।




















