सालिक क्षणिक आकर्षणका लागि होइन, शताब्दीयौँसम्म इतिहास बोलिरहने उद्देश्यले निर्माण गरिन्छ। त्यसैले यसको सौन्दर्य कृत्रिम रङमा होइन, सामग्रीको प्राकृतिक गरिमा, मौलिकता र कालजयी स्थायित्वमा निहित हुन्छ।
सालिक अनिवार्य रूपमा रंगहीन हुनुपर्छ भन्ने कुनै नियम त छैन। तर विश्वभरका अधिकांश स्थायी सालिकहरूमा प्रयोग भएको सामग्रीको प्राकृतिक रङलाई नै कायम राख्ने परम्परा बलियो छ।
ढलौट (ब्रोंज), ढुङ्गा, ग्रेनाइट वा मार्बलजस्ता सामग्रीको प्राकृतिक सतह दशकौँदेखि शताब्दीयौँसम्म टिक्न सक्छ। तर बाहिरी रङ घाम, वर्षा र मौसमको प्रभावले केही वर्षमै फिका हुने, उप्किने वा बिग्रिने सम्भावना रहन्छ।
प्राकृतिक धातु वा ढुङ्गाको बनावटले सालिकमा गम्भीरता, गरिमा र कालजयी सौन्दर्य प्रदान गर्छ। कृत्रिम रङ लगाइएका सालिकहरूलाई समय समयमा पुनः रङ लगाइरहनुपर्ने हुन्छ, जबकि प्राकृतिक सतहमा यस्तो आवश्यकता न्यून हुन्छ।
ऐतिहासिक प्रामाणिकताको दृष्टिले पनि प्राकृतिक स्वरूपलाई नै प्राथमिकता दिइन्छ। विश्वका धेरै ऐतिहासिक स्मारक र सालिकहरू आफ्नै मौलिक सामग्रीको प्राकृतिक रङमा निर्माण गरिएका छन्, र आजसम्म त्यही परम्परा कायम छ।
अर्को सांस्कृतिक पक्ष पनि विचारणीय छ। सालिक प्रायः दिवंगत व्यक्तिको स्मृतिमा निर्माण गरिन्छ। त्यसैले रंगहीन स्वरूपले उहाँ अब सजीव रूपमा हाम्रो बीचमा हुनुहुन्न, तर उहाँको योगदान, आदर्श र स्मृति भने अमर छन् भन्ने भाव पनि व्यक्त गर्छ। जीवित व्यक्तिको प्रतिरूपलाई सामान्यतया प्रतिमा भनिन्छ, जसमा आवश्यकताअनुसार प्राकृतिक वा यथार्थपरक रङको प्रयोग हुन सक्छ। देवी देवता का मूर्ति भने सालिक होइनन्, प्रतिमा हुन् यी रंगीन र प्राकृतिक दुवै हुन्छन्।
आजभोलि भने फाइबरग्लास, रेजिन तथा अन्य आधुनिक सामग्रीबाट रंगीन सालिक र प्रतिमाहरू पनि निर्माण भइरहेका छन्। विशेष गरी संग्रहालयका शैक्षिक प्रदर्शन, बाल उद्यान, थीम पार्क तथा धार्मिक प्रतिमाहरूमा परम्परा र उद्देश्यअनुसार रङको प्रयोग गरिन्छ।
तर सार्वजनिक चौक, पार्क तथा राष्ट्रिय व्यक्तित्वका स्मारकीय सालिकहरूका लागि प्राकृतिक धातु वा ढुङ्गाको मौलिक रङलाई नै बढी उपयुक्त मानिन्छ, किनकि त्यसले दीर्घकालीन सौन्दर्य, गरिमा, ऐतिहासिक प्रामाणिकता र कालजयी मूल्यलाई सुरक्षित राख्छ।
विक्रम श्री
इटहरी




















