विराटनगर ।केन्द्रमा नेकपा एमाले र नेकपाबीच नयाँ सत्ता सहमति बनेपछि कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तनको विषयले एमालेभित्रै नयाँ विवाद उत्पन्न गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले ताप्लेजुङका सांसद तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी अघि बढाएका छन्। तर वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले पार्टीको औपचारिक र संस्थागत निर्णयबिना पद नछाड्ने स्पष्ट अडान लिएपछि नेतृत्व परिवर्तनको प्रक्रिया जटिल बनेको छ।

स्रोतका अनुसार ओलीले मेन्याङ्बोसँग नेतृत्व हस्तान्तरणबारे छलफल गरिसकेका छन् भने कार्कीले पनि ओलीसँग भेट गरी व्यक्तिगत निर्देशनका आधारमा राजीनामा नदिने धारणा राखेका छन्। एमालेभित्र नेतृत्व परिवर्तनको विषयमा एकमत नदेखिएको बताइन्छ। अध्यक्ष ओली परिवर्तनको पक्षमा रहे पनि केही शीर्ष नेताहरू कार्कीलाई नै निरन्तरता दिनुपर्ने मतमा रहेको चर्चा छ।

कार्की हाल संविधानको धारा १६८(५) अन्तर्गत गठित सरकारको नेतृत्व गरिरहेका छन्। उनी नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। यस्तो अवस्थामा उनको राजीनामा वा नयाँ संवैधानिक आधारबिना सरकार परिवर्तन सहज नहुने देखिन्छ।

शनिबार विराटनगरमा प्रदेश नेतृत्वसँग भएको छलफलमा पनि कार्कीले औपचारिक पार्टी निर्णय नआएसम्म पद नत्याग्ने अडान दोहोर्याएका थिए। उता एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले मुख्यमन्त्री परिवर्तनबारे पार्टीको कुनै औपचारिक निर्णय नभएको बताएका छन्।

केन्द्रमा नयाँ राजनीतिक समीकरण बनेसँगै कोशी सरकारको नेतृत्व परिवर्तनलाई प्राथमिकतामा राखिएको भए पनि एमालेभित्रकै असहमति र संवैधानिक प्रक्रियाका कारण प्रदेशको राजनीतिक अवस्था अझै केही समय अनिश्चित रहने संकेत देखिएको छ।