विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाउँदै प्रभावित क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जिल्लाको दक्षिणी क्षेत्रका पाँच प्रमुख बजारमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लागू गरिएको जानकरी दिए।कर्फ्यु आइतबार बिहान ७ बजेदेखि लगाएको हो।

कर्फ्यु अवधिभर प्रभावित क्षेत्रमा सर्वसाधारणको आवतजावत पूर्ण रूपमा निषेध गरिएको छ। साथै कुनै पनि प्रकारका भेला, जुलुस, सभा, प्रदर्शन तथा अन्य सामूहिक गतिविधिमा रोक लगाइएको प्रशासनले जनाएको छ।

प्रशासनले स्थानीय बासिन्दालाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गर्दै शान्ति–सुरक्षा कायम राख्न सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा परिचालन गरिएको जनाएको छ।