विराटनगर।सुनसरी देवानगंज गोली काण्डको छानबिनको माँग गर्दै विश्व हिन्दु परिषद् नेपाल मोरङको युवा मोर्चाले मङ्गलवार विराटनगर बजार स्कुल बन्द गराएका छन् ।
आइतबार राती सुनसरीको देवानगंजमा दुई समुदाय बिच भएको भिडन्तको क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो।
१४ जना भन्दा बढी घाइते भएका छन् । सङ्घीय सरकारको गृह मन्त्रालयले देवानगंज गोली काण्ड घटनाको अनुसन्धान गर्न ५ सदस्य छानबिन टोली गठन गरेको छ ।
घटनामा दोषी देखिएका नेपाल प्रहरीको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरे, सुनसरीका प्रहरी प्रमुख एसपी केशव थेवे, सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे र सशस्त्र प्रहरी बल नेपाल सुनसरीका एसपी श्याम कार्कीको जिम्मेवारी खोसिएको छ । थप कारबाहीका लागि गृह मन्त्रालयमा तानिएको छ ।
गृह मन्त्रालयमा तानिएका सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले देवानगंज गोली काण्ड घटनामा आफूले प्रहरीलाई गोली चलाउन आदेश नदिएको बयान दिएपछि घटना थप रहस्यमय बनेको छ ।
विश्व हिन्दु परिषद् नेपाल मोरङको युवा मोर्चाले देवानगंज गोली काण्ड घटना थप रहस्यमय बनेकोले उच्चस्तरीय छानबिन समिति मार्फत घटनाको छानबिन हुनु पर्ने माँग गर्दै विराटनगर बजार लगायत निजि विद्यालय बन्द गराएका छन् ।




















