सर्लाही।साउन सर्लाहीको बागमती नगरपालिका–५ टेकानीस्थित ससुरालीमा श्रीमतीको हत्या प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

जिल्लाको धनकौल गाउँपालिका–१ शेखौना निवासी २१ वर्षीय बसन्ता बैठा धोबीले सोमबार राति करिब ८ बजे आफ्नी १८ वर्षीया श्रीमती चिन्ता देवीलाई कुटपिट गरी साडीको पासो लगाएर झुन्ड्याउने प्रयास गरेको प्रहरीले जनाएको छ।

घटनाका क्रममा बहिनी नाता पर्ने १० वर्षीया कुसुम कुमारीले उक्त दृश्य देखेपछि तत्काल आफन्तलाई खबर गरेकी थिइन्। आफन्तले समयमै पासो खोलेर चिन्ता देवीको उद्धार गरेका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी राजघाटबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो। घाइते चिन्ता देवीलाई प्रारम्भिक उपचारका लागि बागमती मोडेल अस्पताल, कर्मैयामा लगिएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज रिफर गरिएकोमा पुनः थप उपचारका लागि राति १०:३० बजे रौतहटको बेटर नेपाल अस्पताल, गरुडामा भर्ना गरिएको प्रहरीले जनाएको छ। हाल उनको अवस्था गम्भीर रहेको बताइएको छ।

घटनामा संलग्न बसन्ता बैठा धोबीलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।