सुर्खेत। सुर्खेतको लेकबेशी नगरपालिका–५ र ६ को सिमानास्थित हलकन्डरा क्षेत्रमा यात्रुबाहक मुस्ताङ जिप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
डाँडागाउँबाट दशरथपुरतर्फ आउँदै गरेको भे १ ज ५४० नम्बरको मुस्ताङ जिप उकालो सडकमा आफैं अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा पठाइएको थियो।
दुर्घटनामा घाइते भएका १० जनाको माया नर्सिङ होम, सुर्खेतमा उपचार भइरहेको छ। पाँच जनाको दशरथपुरस्थित स्थानीय मेडिकल तथा नगर अस्पतालमा उपचार भइरहेको छ। उपचाररत घाइतेमध्ये लेकबेशी नगरपालिका–६ निवासी २२ वर्षीया सुष्मा कार्कीको शरीरमा गम्भीर भित्री चोट लागेको र उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ।
माया नर्सिङ होममा उपचाररत अन्य घाइतेहरूमा चालक लेकबेशी नगरपालिका–४ निवासी २३ वर्षीय दिपेश पुन, ३ वर्षीय क्रिजन कार्की, २६ वर्षीया तिल्सरा सिरिस, ७० वर्षीया अमृता कार्की, ७० वर्षीया खगिसरा विक, ७ वर्षीय दर्शन विक, २७ वर्षीया दिलमाया विक, २८ वर्षीया समीक्षा विक, ६० वर्षीया आइती कामी, २८ वर्षीया लक्ष्मी विक र ३१ वर्षीया रिमा विक रहेका छन्। उनीहरूलाई शरीरका विभिन्न भागमा चोट लागेको भए पनि अधिकांशको अवस्था सामान्यदेखि मध्यम रहेको अस्पतालले जनाएको छ।
त्यसैगरी दशरथपुरस्थित स्थानीय मेडिकल तथा नगर अस्पतालमा उपचाररत घाइतेहरूमा २५ वर्षीया जुना सुनार, २३ वर्षीया मिना परियार, २८ वर्षीया गीता सुनारसहित पाँच जना रहेका छन्। उनीहरूमध्ये केहीको अवस्था मध्यम रहेको जनाइएको छ।
दुर्घटनाग्रस्त जिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण खुल्न बाँकी रहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।




















