दाङ। दाङ जिल्लामा ३५ केजी लागुऔषध चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
अस्थायी प्रहरी पोस्ट कालाकाटेबाट खटिएको प्रहरी टोलीले गढवा गाउँपालिका–१ जुरौनीस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी चेकजाँच गर्ने क्रममा उक्त परिमाणको चरेस बरामद गरेको हो। प्रहरीले बुटवलबाट नेपालगञ्जतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०८३७ नम्बरको ईभी हाइसलाई रोकेर जाँच गरेको थियो।
जाँचका क्रममा हाइसको पछाडिको सिटमा रहेका दुई वटा कालो झोला र एउटा निलो रङको सुटकेसभित्र ३५ केजी चरेसजस्तो देखिने कालो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार चेकजाँचका क्रममा सोही सिटमा रहेका नाम, थर र वतन नखुलेका अन्दाजी २५ वर्षीय एक पुरुष फरार भएका थिए। त्यसपछि बरामद भएको झोला र सुटकेस आफ्नो भएको दाबी गर्ने रुकुम पूर्वको भूमे गाउँपालिका–२ निवासी अन्दाजी २६ वर्षीय हिक्मत पुनलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले बरामद गरिएको लागुऔषधसहित पुनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।



















