विराटनगर। मोरङको धनपालथान गाउँपालिकामा भारततर्फ तस्करी गर्ने उद्देश्यले लुकाइराखिएको करिब ९६ किलो गाँजा प्रहरीले बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित पक्राउ गरिएको छ।

इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी कर्सिया र प्रहरी चौकी गडेरियाको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा धनपालथान गाउँपालिका–१ का २७ वर्षीय सुमनकुमार साह र सोही स्थानका २७ वर्षीय अमर साहलाई बीआर ३८ एच ८७३३ नम्बरको भारतीय मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।

प्रहरी निरीक्षक अशोककुमार झाको नेतृत्वमा खटिएको टोलीले पक्राउ परेकाहरूबाट प्राप्त सूचनाका आधारमा धनपालथान गाउँपालिका–२ भवानीपुरस्थित रामचन्द्र चौधरीको पटुवाबारीमा खोजतलास गर्दा कालो प्लास्टिकमा प्याक गरी तीनवटा पोकाभित्र लुकाइएको ९६ किलो १९८ ग्राम गाँजा बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार उक्त गाँजा सीमावर्ती क्षेत्र हुँदै भारततर्फ तस्करी गर्ने योजनाका साथ अस्थायी रूपमा लुकाइराखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।

पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै घटनामा अन्य व्यक्तिको संलग्नता, तस्करी सञ्जाल र गाँजा भारत पुर्‍याउने योजनाबारे समेत थप अनुसन्धान भइरहेको छ।