विराटनगर। आदर्श निर्माण मन्दिर विराटनगरले संस्थाको स्वर्ण जयन्ती महोत्सवका अवसरमा पूर्वअध्यक्षहरुलाई सम्मान गरेको छ। शनिबार विराटनगरमा आयोजित स्वर्ण जयन्ती समारोहमा संस्थाको नेतृत्व गरिसकेका पूर्वअध्यक्ष तथा उनीहरूका परिवारलाई सम्मान गरिएको हो।
वि.सं. २०३२ सालमा स्थापना भएको आदर्श निर्माण मन्दिरले २०८३ सालमा ५० वर्ष पूरा गरेको छ। संस्थाको स्थापनादेखि हालसम्म १९ जना पूर्वअध्यक्षले नेतृत्व गरिसकेका छन्। पूर्वअध्यक्ष पवन कन्दोईले २०५८ देखि २०५९ तथा २०६१ देखि २०६३ सम्म गरी दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेका थिए।
स्वर्ण जयन्ती समारोहमा लक्ष्मण नेवटीया, विजयकुमार राठी, विजयकुमार चौधरी, कृष्णकुमार शर्मा, महेशकुमार जोशी, शम्भुलाल शर्मा, जितेन्द्रकुमार राठी, विमलकुमार अग्रवाल, ताराचन्द अग्रवाल, श्याम भण्डारी, मनोजकुमार अग्रवाल, पवन कन्दोई, शुभाषप्रसाद रिजाल, कमलकिशोर राठी, दिलिप अटल, दिनबन्धु गोयल, अरुण अग्रवाल र सुरेशप्रसाद अग्रवाललाई सम्मान गरिएको थियो।
आदर्श निर्माण मन्दिरका अध्यक्ष शिवरतन शर्मा जोशी, उपाध्यक्षद्वय राजेश अग्रवाल र मुकेश सोनी, महासचिव प्रेम पारख, सचिव जितेन्द्र कांसरिया तथा कोषाध्यक्ष प्रविण अग्रवालले पूर्वअध्यक्ष तथा उनका परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए।
संस्थाको ५०औँ वर्ष प्रवेशको अवसरमा हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा स्वर्ण जयन्ती महोत्सव आयोजना गरिएको थियो।
कार्यक्रममा कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, मोरङका प्रहरी प्रमुख एसपी कवित कटवाल तथा राष्ट्रिय अनुसन्धान मोरङका प्रमुख एसपी राजन सापकोटाले आदर्श निर्माण मन्दिरले आदर्श समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए।
कार्यक्रममा कलाकार भरत गुरागाईँ, सविना श्रेष्ठ ,गिता पोखरेल कोइराला ,सुरज माझि,लगायतका कलाकारहरुले भरत गुरागाईंको कथामा आधारित लागुऔषध तथा मादक पदार्थ सेवनविरुद्धको सचेतनामूलक नाटकसमेत प्रस्तुत गरिएको थियो।






















