फुलु प्रधान
सुनसरी।रामधुनी नगरपालिका ३ बगैँचा टोल बस्दै आएका सशस्त्र प्रहरी हवल्दार होमबहादुर थापा मगरको ४० वर्षको अल्पायुमै निधन भएको छ। उहाँको निधनपछि सशस्त्र प्रहरी बल नेपालले शोक सलामीसहित अन्तिम बिदाइ गरेको छ।
वि.सं. २०६३ फागुनदेखि सशस्त्र प्रहरी बल नेपालमा सेवा प्रवेश गरेका थापा मगर सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण हेडक्वार्टर त्रियुगा, उदयपुरमा दरबन्दी भई हाल बोर्डर आउट पोस्ट अमडुवा, सुनसरीमा कार्यरत थिए।
उनलाई वि.सं. २०८३ साउन २६ गते ज्वरो आएपछि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा परीक्षण गराउँदा दुवै मिर्गौला खराब भएको पाइएको थियो। अस्पतालमा उपचाररत थापा मगरको साउन २९ गते साँझ निधन भएको थियो।
उनको साउन ३० गते इटहरीस्थित बूढीगंगा मुक्तिघाटमा अन्त्येष्टि गरिएको हो। अन्त्येष्टिका क्रममा सशस्त्र प्रहरी बल नेपालको एक टुकडी टोलीले स्वर्गीय हवल्दार थापा मगरप्रति शोक सलामी अर्पण गर्दै अन्तिम बिदाइ गरेको थियो।
कर्तव्यमा रहँदा अल्पायुमै भएको थापा मगरको निधनले सशस्त्र प्रहरी बल नेपाललाई अपूरणीय क्षति पुगेको जनाइएको छ।




















