जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलस्थित डोल्पा–जाजरकोट सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

मिति २०८३ भदौ ४ गते साँझ करिब ६ः३० बजे नलगाड नगरपालिका–९ ताँत्राबाट दल्ली बजारतर्फ आउँदै गरेको लु.१ च ८२२७ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा नलगाड नगरपालिका–१० का २५ वर्षीय बालकृष्ण बोहरा गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा नलगाड नगरपालिका–१० का २६ वर्षीय गणेश ध्यार, २६ वर्षीय मानबहादुर बोहरा, ४० वर्षीया सम्झना गहतरा, ३० वर्षीय राजेन्द्र ध्यार, ५२ वर्षीया रत्नाकुमारी बोहरा र १६ वर्षीय निखिल सुनार घाइते भएका छन्।

दुर्घटनापछि जिप चालक नलगाड नगरपालिका–८ हलचौरका २४ वर्षीय विनोद विक भनिने विनबहादुर विक फरार भएका थिए। प्रहरीले खोजतलास गरी उनलाई सोही रात नियन्त्रणमा लिएको जनाएको छ।

दुर्घटनामा परेको जिप घटनास्थलमै रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।