चोरी प्रयासको भाग्ने क्रममा तीन तलाबाट खसेका पुरुषको मृत्यु
- भदौ १४, २०८३
- ९५ पटक पढिएको
विराटनगर । विराटनगरमा मध्यरातमा चोरी गर्ने उद्देश्यले घरमा प्रवेश गरेका एक पुरुषको तीन तलामाथिबाट खसेर मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–४ गणेश चोकस्थित पुरुषोत्तम न्यौपानेको घरमा चोरी गर्न पुगेका अन्दाजी ३५ देखि ४० वर्ष उमेरका पुरुषको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रहरी नायब उपरीक्षक सन्तोष श्रेष्ठका अनुसार ती पुरुष छिमेकीको अर्को घरबाट माथि चढेर न्यौपानेको घरमा पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घरको तीन तलामाथि पुगेपछि घरधनीले थाहा पाएर होहल्ला गरेका थिए । होहल्ला भएपछि छरछिमेकीसमेत जम्मा हुन थालेपछि ती पुरुष भाग्ने प्रयासमा तीन तलामाथिबाट हाम्फालेको प्रहरीले जनाएको छ ।
तीव्र गतिमा भाग्ने प्रयास गर्दा तीन तलाबाट खसेर गम्भीर घाइते भएका उनको आइतबार राति १२ बजेर २० मिनेटतिर घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए।
प्रहरी नायब उपरीक्षक श्रेष्ठको नेतृत्वमा पुगेको प्रहरी टोलीले घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि राती करिब २ बजे कोशी अस्पताल पठाएको छ ।




















