विराटनगर । आज भगवान विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा पूजा तथा विश्वकर्मा जयन्ती मनाइँदैछ। हरेक वर्ष कन्या संक्रान्तिका दिन विश्वकर्मा पूजा गर्ने धार्मिक तथा सांस्कृतिक प्रचलन छ। यस दिन भगवान विश्वकर्माको जन्म भएको विश्वासका आधारमा विश्वकर्मा जयन्तीको रूपमा समेत मनाउने गरिन्छ।

विश्वकर्मा पूजाका अवसरमा विभिन्न कलकारखाना, उद्योग तथा वर्कसपमा भगवान विश्वकर्माको मूर्ति तथा तस्बिर स्थापना गरी विधिपूर्वक पूजा आराधना गर्ने चलन छ कलकारखाना तथा कार्यस्थललाई विशेष रूपमा सजाएर श्रमिक तथा कालिगढले उत्साहका साथ पूजा मनाउने गर्छन्।

पूजाका क्रममा बालुवा तथा अन्य सामग्रीबाट बनाइएको विश्वकर्माको मूर्ति शुद्ध तथा पवित्र स्थलमा लगेर विसर्जन गर्ने परम्परा पनि छ। विराटनगरका विभिन्न उद्योग, कलकारखाना तथा वर्कसपमा पनि विश्वकर्माका मूर्ति स्थापना गरी साजसज्जा गरिएको छ।