विराटनगर, ११ असाेज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी ब्यारेज र बराह क्षेत्र आसपासका डुवान क्षेत्रको निरीक्षण गर्नु भएको छ । दिउँसो मुख्यमन्त्री कार्की तथा तीनवटै सुरक्षा निकायका प्रदेश प्रमुखहरू सहभागी हुनुहुन्थ्यो । मुख्यमन्त्री कार्कीले बराह क्षेत्र नगरपालिका ६ र ९का विभिन्न स्थानमा बाढीमा फसेका ३४ जनाको उद्धार गर्न सुरक्षा निकायका प्रमुखहररूलाई आग्रह गर्नुभयो । स्थलगत निरीक्षणपछि मुख्यमन्त्री कार्कीले उनीहरुको उद्धारका लागि सुरक्षा निकायलाई निर्देशन गर्नु भएको हो । उनिहरुलाई हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ । यस्तै प्रदेशभरि वर्षा भइरहेको र बाढी पहिरो आइरहेको अवस्थामा तयारी अवस्थामा रहन निर्देशन दिनु भएको छ । अहिले प्रदेशका सबै बाढी पहिरो गएको क्षेत्रमा उद्धार र राहतको काम सुरु भएको मुख्यमन्त्री कार्कीले जानकारी दिनुभयो । अहिले कोशी ब्यारेजमा पानीको बहाव ५ लाख ३१ हजार ७ सय ५० मापन गरिएको छ । कोशीमा पानीको बहाव लगातार बढेपछि मुख्यमन्त्री कार्कीको निर्देशन लगत्तै कोशी ब्यारेजको पुलबाट अत्यावश्यक बाहेकका सवारी साधनलाइ आवागमनमा रोक लगाइएको छ ।




















