विराटनगर  / केही दिन अघिदेखि भएको अविरल बर्षाका कारण देश भर भएको जनधन तथा भौतिक पूर्वाधारमा भएको क्षति पछिको संकटको सामानाका लागि सबै जुट्न नेकपा एमाले कोशी प्रदेश कमिटीले अपिल गरेको छ । 


कमिटीका अध्यक्ष घनश्याम खतिवडाले आइतबार विज्ञप्ति जारी गरि सबैलाई राहत, उद्धार र पुनर्निर्माण्मा जुट्न तीनै तहका सरकार, राजनीतिक दल, सामाजिक संघ संस्था र नीजि क्षेत्रलाई आग्रह गरेका छन्  । 


दशैंको मुखमा राजमार्गमा भएको क्षतिका कारण यातायात अवरुघ भएकाले तत्काल सडक सुचारु गदैं विपत्तिमा भएका घाइतेको उपचार, मृतकका परिवारलाई राहत व्यवस्थापन गर्न ,प्रदेश र स्थानीय सरकारको अध्यक्ष खतिवडाले ध्यानाकर्षण गराएका छन्  ।


साथै पार्टीसँग आवद्ध सबै तहका नेता कार्यकर्ताहरुलाई विपत्तिमा परेकाहरुलाई राहत, उद्धार र पुनस्थापनका लागि सहयोगमा जुट्नसमेत निर्देशन दिएको हो। 


 विपद्मा परी एक सय जनाभन्दा बढीको ज्यान गइसकेको, ठूलो सङ्ख्यामा बेपत्ता र घाइते भएका तथा हजारौँ नागरिक घरवारविहीन भएका व्यक्तिका निजी सम्पत्तिदेखि सार्वजनिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको छ । राष्ट्र र जनताले भोग्नुपरेको यो क्षति र पीडाप्रति आफू र पार्टीका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत  गरेका छन् ।


गृह मन्त्रालयका अनुसार बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय एक जनाको मृत्यु भएको छ।भने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् । 


बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुरमा पाँच जनाले ज्यान गुमाएका छन् ।


गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको छ ।