विराटनगर। नेपाल उद्योग परिसंघको सहयोग र जिल्ला प्रशासन कार्यालय मोरङको समन्वयमा बुधबार  आयोजित अन्तर–संवाद कार्यक्रममा वक्ताहरुले व्यवस्था फेरिएपनि नागरिकलाई सेवा प्रवाह गर्ने कार्यालयको अवस्था नफेरिएको बताएका छन्। 

 कार्यक्रममा राजनीतिक विश्लेषक एवं प्रा.कृष्ण पोखरेलले अहिले पनि जिल्ला प्रशासन कार्यालयमा नागरिकले आफैं आएर सेवा लिन सक्ने अवस्था अति कम रहेको भन्दै चिन्ता व्यक्त गरे । उनले बिचौलिया माध्यम बनेर आएका काम धमाधम हुने र सेवाग्राही आफैंले बढाएको फायलमा ढिलासुस्ती हुने गरेको  दावी गरेका छन्  । सार्वजानिक सेवा प्रवाहका कार्यलयमा काम गराउन कर्मचारीले स्पिड मनी खोज्ने गरेको उनले दावी गरेका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सनातन किसिमका काम गर्ने अड्डा र विकासका काम गर्ने अड्डाले पूर्ण क्षमतामा कार्यसञ्चालन गर्न नसकेको स्वीकार गरेका हुन्  । उनले अड्डा प्रमुख मात्रै सुध्रिए पनि कार्यालयको आधा काम सुध्रिने बताउँदै भने–सेवाग्राहीमा समेत समस्या छ, सबैले सुधार गर्ने कुरामा प्रतिवद्ध हुनुपर्छ । उनले २०६० सालको जिल्ला प्रशासन कार्यालयको संरचनाले अहिलेको माग पूरा गर्न नसक्ने बताएका छन् । 

भ्रष्टचार विरुद्धको नागरिक निगरानी संस्था, मोरङले आयोजना गरेको कार्यक्रममा पत्रकार गोकुल पराजुलीले सरकारी कार्यालयका प्रमुखहरु सरुवामै सेटिङ मिलाएर रकम बुझाउँने भएकोले भ्रष्टचाररहित सेवा दिन्छन् भन्ने कुरा बताएका छन्।

कार्यक्रम जिल्ला प्रशासन कार्यालयकाे समीक्षालयमा भएकाे थियो ।