मान्छे सफा छ दिलको नव भाव बोक्ने

उत्ताल  ताल  तलमाथि  सबै  समेट्ने !

विश्वास बिम्ब मनका मन छन् सितारा

खस्किन्छ दुर्व्यसनले शिर-शक्ति सारा!!


उल्का रहस्य दुनियाँ छ विशाल साल

भित्री भए नयन सौम्य सदा त्रिकाल!

बिक्दैन मानिस भने दिल दिव्य प्यारा

खस्किन्छ दुर्व्यसनले शिर-शक्ति सारा!!


सम्भाव्य भव्य भयमुक्त स्वभाव चर्का

हुन्छन्  खरा  नरम  शीतल हुन्न बर्का !

चौडा छ वक्ष जसको नभको छ तारा

खस्किन्छ दुर्व्यसनले शिर-शक्ति सारा!!


चङ्गा भए मन मिठास मिजास हुन्छ

अग्लेर लक्ष्य उसले शिरमाथि छुन्छ!

हाँक्ने छ विश्व सजिलै नव क्रान्ति धारा

खस्किन्छ दुर्व्यसनले शिर-शक्ति सारा!!


बन्ने छ कल्पतरु ऊ जनजिन्दगीको

छर्दै सुवास सबमा हटी गन्दगीको !

हल्का न बन्दछ कतै मनकाव्य धारा

खस्किन्छ दुर्व्यसनले शिर-शक्ति सारा!!


लज्जा र त्रास जति छन् मन शुध्द बन्दा

जान्छन्  सबै  परपरै  दिल   बुध्द बन्दा !

उच्छाल छाल छलका जन शुक्र तारा

खस्किन्छ दुर्व्यसनले शिर-शक्ति सारा!!


नाँच्छन् धमाक जलअग्नि बली धरामा

सच्चा  भए  जनमनोगति   कन्दरामा!

झर्ना  झरे  झररझैँ  छ  झकास  पारा

खस्किन्छ दुव्यसनले शिर-शक्ति सारा!!


बन्छन् तिनै जन यता दीनका दिवार

हुन्नन् कतै असल चाल लिई सवार!

आस्था सकिन्छ यिनमा दयनीय पारा

खस्किन्छ दुर्व्यसनले शिर-शक्ति सारा!!


सच्चा सफा सजलका जलका विचार

सङ्ला सधैँ सकलमा सबका जुहार!

अग्ला उचा अबलका अझ हार हारा

खस्किन्छ दुर्व्यसनले शिर-शक्ति सारा!!

कलानिधि दाहाल

काठमाडौं