झापा।झापाको बाह्रदशी गाउँपालिका–७ बत्तीसबिघे क्षेत्रमा सोमबार आएको हावाहुरी र वर्षाले व्यावसायिक केरा खेतीमा ठूलो क्षति पुर्याएको छ । ८० बिघा क्षेत्रफलमा लगाइएको केरा खेतीमध्ये करिब ९० प्रतिशत बोट ढलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुमानअनुसार करिब ३ करोड ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय १५ परिवार यसबाट प्रभावित भएका छन् ।
किसान मिलन संग्रौलाका अनुसार बजार पठाउने तयारीमा रहेका र फल दिन थालेका केराका बोट नष्ट भएपछि किसान ठूलो आर्थिक संकटमा परेका छन् । किसानहरूले राहत, कृषि बिमा तथा दीर्घकालीन संरक्षण कार्यक्रमको माग गरेका छन् ।



















